Thursday, November 26, 2009


पत्रकारिताको जासुसीकरण — शिव गाउँले

पत्रकार जासुस बन्न मिल्छ कि मिल्दैन? झट्ट हेर्दा दुवैको कामको प्रकृति उस्तै छ। विवरण संकलन र विश्लेषण गर्ने। तर, गृह मन्त्रालयको लामो स्पष्टीकरण पछि दुई सातादेखि चलेको यसबारेको एउटा चर्चा तत्काललाई किनारा लागेको छ। मुलुकको कानून व्यवस्था हेर्ने गृहमन्त्री भीमबहादुर रावलले लामो स्पष्टीकरण दिए, 'पत्रकारलाई सुराकी बनाउने सरकारको योजना छैन। विशेष सुरक्षा योजना कार्यान्वयनमा पत्रकारलाई पनि परिचालन गर्ने भनिएको मात्रै हो। यसमा आपत्ति भए सरकार यो प्रस्ताव फिर्ता लिन पनि तयार छ।' अर्थात् गृहमन्त्री रावलले कुरा लुकाएनन्। प्रस्ट पारे– सरकारले आफनो योजना कार्यान्वयन गर्ने क्रममा पत्रकारलाई प्रयोग गर्न खोजेको हो। आपत्ति भए योजना फिर्ता लिन पनि हामी तयार छौं।

व्यवसायिक हितका दृष्टिले यो स्वागत योग्य मामिला थियो। पत्रकारहरु सरकारी जासुस बन्नु हुदैन भन्नेमा नेपालका पत्रकारहरु एक ठाउँमा उभिए। तर, तत्कालका लागि यो वहस किनारा लागे जस्तो देखिए पनि यसले केही गम्भीर दीर्धकालीन महत्वका प्रश्नहरु उठाएको छ। अर्थात् यस प्रकरणले पत्रकारले गर्न नहुने अरु धेरै पक्षका बारेमा बहस गर्न सजिलो बनाइदिएको छ।

चर्को दलीयता नेपाली प्रेसको व्यवसायिक विकासमा एक प्रमुख बाधक पक्ष हो। राजनीतिमा टिक्न असफलहरु वा क्षमताको हिसाबले नै असक्षमहरु 'पत्रकारको पनि बिचार हुन्छ' भन्ने नाममा अहिले पनि यो पेशाको हुर्मत लिइरहेका छन्। तिनको भूमिका कुनै जासुसकोभन्दा कम हानिकारक छैन यो पेशाका लागि। पत्रकारितालाई उपयोग मात्रै गर्ने उद्देश्य भएका यस्ता सिकारु राजनीतिक कार्यकर्ताको पञ्जाबाट यस क्षेत्रलाई मुक्त गर्न यो जासुसी प्रकरणकोभन्दा बलियो कदम उठाउनु जरुरी भइसकेको छ। के यस निम्ति हामी पेशाकर्मीहरु तयार छौं?

संस्थागत पत्रकारिताको थालनीले व्यवसायिक पत्रकारिता फस्टाउँदै गएको प्रचार हामी स्वयं गरिरहेका छौं। तर, यस्तो व्यवसायिक पत्रकारिता कति निरीह छ र कति कमजोर बाटोमा हिंडिरहेको छ भन्ने थाहा पाउन गहिरो अनुसन्धान जरुरी पर्दैन। मुख्यतया चाउचाउ, अटोमोबाइल, आवास कम्पनी, हवाइ सेवा र मदिरा सम्बन्धी मामिलाका समाचार पढे, हेरे र सुने पुग्छ। बजार र विज्ञापनको प्रभावले होला यस क्षेत्रको समग्र समीक्षा गर्ने होइन, तिनको प्रगति विवरण पस्कने काम गरे पुग्छ भन्ने हाम्रो पत्रकारिताको बुझाइ छ। अरबौंको लगानी र कारोबार भइरहेका यी क्षेत्रमा नेपालको पत्रकारिताले (मुख्यतया दैनिक पत्रपत्रिकाले) त्यति विध्न प्रश्न गर्नु पर्ने पक्षहरु हुँदै नभएका होलान् त? के यो कुनै वस्तु वा सेवाको बजार विस्तार गर्न सघाउने काम मात्र भएन र? अनि जासुसी गर्नुभन्दा यो काम कुन दृष्टिले कम हानिकारक छ र?
सरकारले गृहमन्त्रालय अन्तर्गत एउटा संयन्त्रमा राख्न खोजेकोमा नेपाली पत्रकारहरुले विरोध जनाएर स्वागत योग्य काम गरे। तर यसले उनीहरुलाई एकैचोटी धेरैवटा प्रश्नको जवाफ दिनु पर्ने परिस्थितिमा उभ्याई दिएको छ। अब पार्टीले चलाएका पत्रिकामा संवाददाता भएर काम गर्नेलाई के भन्ने? त्यो अर्को विरोधी दलको कार्यालयमा आयोजना भएको पत्रकार सम्मेलनमा पुग्दा …जासुस' भनिन सक्छ कि सक्दैन? फलानो दलद्वारा प्रकाशित नभन्ने तर पार्टी कार्यकर्ताद्वारा पार्टीकै पक्षमा वा कुनै गुटका पक्षमा पत्रिका वा रेडियो चलाउने काम यहाँ निरन्तर छ। अब पार्टीको एउटा निकायले चलाएका पत्रिकाको सम्पादकलाई प्रतिस्पर्धी पार्टीले 'जासुस' भन्यो भने हाम्रो प्रतिक्रिया के हुने? यही कुरा प्रतिस्पर्धी नीजि क्षेत्रका सबै कम्पनीका हकमा पनि लागू हुन्न र?

मेरो बिचारमा यस पटक हामी पत्रकारले एउटा गतिलो काम गरेका छौं। तर यो निर्णय धान्न हामीलाई धेरै मुस्किल पर्ने म देख्छु। पत्रकार–पुलिस, पत्रकार–जासुस, पत्रकार–पार्टी कार्यकर्ता, पत्रकार–कम्पनी प्रबन्धक छुट्याउन हम्मे हम्मे पर्ने अवस्थामा हामीले जासुस हुन्न त भन्यौ के पुलिस हुन्न, पार्टी कार्यकर्ता हुन्न, कम्पनी प्रबन्धक हुन्न भन्ने तागत हामीसँग छ? अन्यथा एउटा जाबो जासुसी हटाएर मात्रै पत्रकारिताको व्यवसायिक उत्थान कसरी सम्भव होला र? जे भएपनि यसपटक राम्रो भएको छ। हामीले नै खुलेर भन्यौ 'हामी जासुस हुन्नौं।' तर अब त जासुस हुन्नांै भनेर मात्रै कहाँ धर पाइन्छ र? अरु धेरै कुरा छन् पत्रकारले हुन नहुने। समग्रमा पत्रकार जासुस बन्नु हुन्न भन्नुको अर्थ पत्रकारितालाई नै जासुसी करण गर्नु हुन्न भनेको पनि त हो।

Monday, November 23, 2009

अहिलेको विश्वमा विकास संचारको सान्दर्भिकता

- विनय कसजू
भारतको पूर्वी समुद्र तटीय राज्य पोण्डेचेरीको एउटा गाउँ नाल्लवधुमा सुनामी महाभूकम्पले उत्पन्न गरेको समुद्री छालको पानी पस्यो तर त्यहाँ कसैको पनि मृत्यु भएन । छाल आउनुभन्दा पहिले नै सबै गाउँलेहरू घर छाडेर सुरक्षित ठाउँमा गइसकेका थिए । जबकी पोण्डेचेरी राज्यमा मात्रै चार सय जनाको ज्यान गएको थियो । विजयकुमारको फोन सन्देशले गर्दा त्यो गाउँमा कसैले अकालमा ज्यान गुमाउनु परेन । उनले केही समय पहिले गाउँको सूचना व्यवस्था गर्ने स्वयंसेवीको तालिम लिएका थिए । सुनामी दुर्घटनाका बेलामा उनी सिंगापुरमा काम गर्थे । सुनामीको छाल सिंगापुरसम्म आइपुगेपछि अनि त्यो छाल भारततिर बढदैछ भन्ने थाहा पाएर उनले आफ्नो गाउँमा फोन गरेर सतर्क गराएका थिए ।

एशिया र हिन्दमहासागरको तटीय क्षेत्रमा त्यस बेला लाखौँ मोबाइल फोन, हजारौँ स्याटेलाइट फोन, करोडौँ इमेल इन्टरनेट, सयौँ भूउपग्रहबाट प्रसारित टेलिभिजन च्यानलहरू सक्रिय थिए । कुनै पनि खबर केही सेकेण्डभित्रै संसारभरि पुर्याउन सकिने संचार संजाल यो क्षेत्रमा उपलब्ध थियो । साथै ह्याम रेडियोका शौखिन संचालकहरूको संख्या पनि निक्कै छ। सुनामी महाभूकम्पबाट उत्पन्न भएको समुद्री छाल इण्डोनेसियाबाट भारतसम्म आइपुग्न दुई घण्टा लागेको थियो । दुर्घटना हुनेबित्तिकै चारैतिर खबर फैलाएको भए दुई घण्टाभित्र समुद्री किनारमा बस्ने धेरै मानिसहरूलाई सुरक्षित ठाउँमा पुर्याउनसकिन्थ्यो ।
अमेरिकाको हवाई द्वीपमा अवस्थित प्रशान्त सुनामी र्सतर्कता केन्द्र र अन्तर्राष्ट्रिय सुनामी सूचना केन्द्रले पनि भूकम्प र प्रशान्त महासागरमा उठेको छालको बारेमा थाहा पाइसकेको थियो । अमेरिकी भूगर्भविद केन हृयुटनको भनाइ थियो, “भूकम्प र सुनामी आउने समयका बीचमा पर्याप्त समय थियो जसबाट तत्कालै सूचना प्रवाह गरेर धनजनको क्षति कम गराउनसकिन्थ्यो । उपयुक्त र्सतर्कता व्यवस्था भएको भए यस्तो दुर्भाग्य हुने थिएन ।”

विश्वमा सूचना र संचार प्रविधिको यति धेरै विकास भइसक्दा पनि सुनामी महाविनाशको चेतावनी फैलाउन नसक्नुका पछाडि के कारण थिए ? बीबीसी र सीएनएनजस्ता समाचारका प्रमुख माध्यमहरूलाई त्यस बेला इराक, इजरायल, युक्रेनआदि देशमा पश्चिमी पुंजीपति देशहरूको हित/स्वार्थ जोगाउनमै फुर्सद थिएन । स्याटेलाइट टीभी तथा विश्वका प्रमुख संचार माध्यमहरू मनोरंजनको व्यापार गर्नमै मग्न थिए ।

मानिसलाई आफ्नो जीवन सुरक्षित र सुखमय बनाउनका लागि प्रविधि चाहिएको हो, केवल प्राविधिक चमत्कार देखाउन वा मनोरंजनका लागि होइन । ख्यातिप्राप्त विकास पत्रकार टार्जी भिटाची भन्छन्, “पत्रकारिताको मुख्य उद्देश्य मानिसको मुटु र मन परिवर्तन गर्नु हो । दिमागको रुपान्तरण गर्न नसक्ने सूचना जति सबै गफ मात्रै हुन् ।”

मिडियामा के विषयवस्तु प्रवाहित हुन्छ, जनताको लागि कुन विषयवस्तु आवश्यक हुन्छ भन्ने कुरामा ध्यान नदिई केवल सूचना प्रविधिको विकासमा मख्ख परेर सन्तुष्ट हुने तथा मिडियालाई नाफा र सत्ता प्राप्तिको लागि उपयोग गर्ने प्रवृत्ति प्रति सुनामी महाविनाशले तीखो व्यंग्य गरेको छ । वास्तवमा यो अहिलेको विश्व सूचना तथा संचार प्रणालीमाथि नमेटिने दाग हो ।

सन् १९७० को दशकमा नयाँ विश्व सूचना तथा संचार प्रणाली (New World Information and Communication Order) आएको थियो । तर त्यसलाई त्यत्तिकै बदनाम र असफल तुल्याइयो । अहिले इन्टरनेटको युगमा आएर सूचना र संचारमा व्यापारिक तथा राजनीतिक उद्देश्य झन बढेको छ । पश्चिमा नियन्त्रण र प्रभाव रहित स्वतन्त्र र सेवामुखी विश्व सूचना र संचार प्रणालीको उहिलेभन्दा झन बढी खाँचो छ ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि सुरु भएको विकासको अर्थ, उद्देश्य र मान्यता फेरिँदैफेरिँदै अहिले आएर सहस्राब्दी विकास लक्ष (MDG) मा आइपुगेको छ । अनि त्यही विकासको अर्थ, उद्देश्य, मान्यता र लक्षलाई पछ्याउँदै अघि बढिरहेको विकास संचार अहिले सहभागितामूलक संचार, ग्रामीण संचार, सामुदयिक संचार, गरिबी निवारणका लागि संचार, विकासका लागि आईसीटी, गरिबका लागि आईटी आदि विभिन्न नाम र रूपमा विश्वव्यापी भइरहेको छ । नाम जे भए पनि यसको मूल भावना र उद्देश्य जनतालाई सबल सक्षम बनाउनु हो । प्रजातन्त्र र विकासका हरेक प्रयासमा जनतालाई सहभागी, निर्णायक र लाभार्थी बनाउन सघाउनु नै अहिलेको विकास संचारको मूल उद्देश्य भएकोले यसलाई जनमुखी संचार (Pro-People Media) भन्न सकिन्छ ।

दोस्रो विश्वयुद्धपछि विकासको अवधारणा, उद्देश्य र रणनीतिमा जसरी परिवर्तन भएको छ त्यसरी नै विकास संचारका औजारहरू, सूचना र संचारका प्रविधिहरूमा अकल्पनीय परिवर्तन आएको छ । नेपालमा विकासका लागि संचार नाराकासाथ सुरु भएको विकास संचारको यात्रा गाइने गीत, हरियाली भजनजस्ता परम्परागत माध्यमहरूदेखि लिएर भित्तेपत्रिका, सामुदयिक अडियो टावर, गाउँले पत्रिका हुँदै सामुदायिक रेडियोसम्म आइपुगेको छ । तर यसैबीच सूचना क्रान्तिको रूपमा डिजिटल प्रविधि आएको छ जसले अहिले सम्म मानव सभ्यताले जानेको र उपयोग गरेको संचारका आंगिक प्रविधि (Organic Technology) , पाठ्य प्रविधि (Text), तथा इलेक्ट्रोनिक प्रविधिलाई उछिन्दै सूचनालाई पाठ्य, दृश्य, श्रव्य/ध्वनि, श्रव्यदृश्य आदि विभिन्न रूपमा एकैचोटि हेर्न, पढ्न, सुन्न सम्भव बनाएको छ । यो नयाँ डिजिटल प्रविधिले विश्वको कुनै ठाउँबाट पनि सस्तो, सजिलो र छिटो सूचना र ज्ञान प्राप्त गर्न, भण्डारण, प्रशोधन र वितरण गर्न सकिन्छ । हामीभन्दा पहिलेका पुस्ताले यो सुविधा उपभोग गर्न पाएको थिएन ।

औद्योगिक क्रन्तिले मानिसको जीवनशैली, चिन्तन, ज्ञान, शिक्षा, आर्थिक तथा सामाजिक व्यवस्था, कला, संस्कृतिलगायत जीवनका हरेक अंगमा जुन प्रभाव पार्यो त्योभन्दा अकल्पनीय मात्रामा सूचना क्रान्तिले प्रभाव पार्दैछ । सबैभन्दा महत्वपूर्ण प्रभाव त यसले केटाकेटीको सिक्ने उमेर र क्षमतामा पार्दैछ । सूचना क्रान्तिले मानिसले काम गर्ने, सिक्ने, एकआपसमा संचार गर्ने, व्यापार गर्नेजस्ता हरेक क्षेत्रमा परिवर्तन ल्याउनुका साथै मानव समाज र अर्थतन्त्रलाई नयाँ आकारमा ढाल्ने काम गर्दैछ । यसले समय र दूरीको बन्धनलाई मात्र तोडेको छैन अपितु संसारभरिका मानिसहरूलाई एकआपसमा संवाद गर्न लगाएर उनीहरूबीच आर्थिक, सामाजिक, सांस्कृतिक भेदभावलाई मेट्ने सम्भावना बढाएकोछ ।

सूचना प्रविधिले मानिसको जीवनलाई धेरै सजिलो बनाउँदैछ । सबैभन्दा मुख्य कुरा त यसले समय र भौतिक दूरीलाई मेटाउँदैछ । शिक्षा, सीप, ज्ञान र सूचना प्राप्त गर्न र प्रेषण गर्न अति सजिलो भएको छ । यातायातमा हुने खर्च र समयलाई घटाएको छ । स्थानीय उद्योगी तथा व्यवसायीहरूको उत्पादन र सेवा विश्वबजारमा पुर्याउन थालेका छन् ।

सूचना प्रविधिको उपयोग गरेर सरकारले जनतालाई दिने सेवा बढी प्रभावकारी र द्रुत गतिले प्रदान गर्न सक्छ । यसको उचित प्रयोग गरेर सरकारी, गैरसरकारी निकायहरू र र्सार्वजनिक संस्थाहरू बढी सक्षम, जिम्मेदार र पारदर्शी बन्नसक्छन् । यसले आमजनतालाई आफ्नो मत तत्काल जाहेर गर्ने सुविधा दिएर प्रजातान्त्रिक समाजको निर्माणमा योगदान दिन सक्छ । शिक्षा, मनोरंजन, व्यापार, उद्योगधन्दा, स्वास्थ्य सेवा, राज्य व्यवस्थापन/सुशासन, आमसंचार, मानव स्रोतको विकास, योजना तर्जुमा आदि अनगिन्ती क्षेत्रमा सूचना प्रविधिको उपयोग हुन सक्छ ।

सूचना प्रविधि, विशेष गरी इन्टरनेटले, जीवनका हरेक क्षेत्रमा प्रभाव परिरहेको छ । मानिसहरूले सूचना र ज्ञान प्राप्त गर्ने मात्रै होइन सोच्ने, काम गर्ने, बाँच्ने तरिका, संचार गर्ने, मनोरंजन गर्ने, र्सार्वजनिक जीवनमा सहभागीहुने सबै क्षेत्र र मानवीय गतिविधिहरूमा यसको प्रभाव परेको छ । मोटरबाटोको सुविधा भएपछि गाडी नभएका मानिसहरूले पनि सुविधा पाएझैँ इन्टरनेटमा पहुँच भएपछि कम्प्युटर नभएकाहरूको जीवनमा पनि यसको प्रभाव पर्नु स्वाभाविक हो ।

तर संसारमा विकासशील र विकसित, सम्पन्न र विपन्न देशहरूबीच इन्टरनेटमा पहुँच धेरै नै फरक छ । युरोप र अमेरिकाका २६ देखि ६८ प्रतिशत घरपरिवारको इन्टरनेटको पहुँच छ भने नेपालका एक प्रतिशत घरमा पनि यसको पहुँच छैन । यसको कारण आर्थिक, पूर्वाधारको अभाव, साक्षरता र चेतनाको कमी आदि विभिन्न कुरा छन् । सूचना प्रविधिको नियन्त्रण र संचालन अंग्रेजी भाषामा हुने हुनाले वेबसाइटमा उपलब्ध सामग्रीको उपयोग गर्ने र सूचना प्रविधि चलाउने काममा भाषाको समस्या तडकारो रूपमा देखिए छ ।
सूचना र ज्ञान प्राप्त गर्ने, जोगाउने र बाँडने यति सजिलो, सस्तो र सुलभ प्रविधि आएपछि संचारबाट पाखा परेका समुदायहरूको सूचना र ज्ञानमा पहुँच बढनु स्वाभाविक हो र प्रविधिको सरलता, सस्तो र सुलभताको दृष्टिले हर्ेदा अब कुनै पनि समुदाय जति विपन्न भए पनि वा जति दुर्ुगम स्थानमा बसे पनि सूचना र ज्ञानको पहुँचबाट टाढा नहुनु पर्ने हो । यो दृष्टिले हेर्दा अब विकास संचार शब्दावलीको सान्दर्भिकता हराएको देखिन्छ । तर वास्तविकता उल्टो छ । सूचना र संचार प्रविधको अकल्पनीय विकास भए पनि विश्वका विपन्न देशहरूमा भौतिक विपन्नतामात्र होइन सूचना र ज्ञानको गरिबीमा पनि नयाँनयाँ हाँक थपिएका छन् ।

जुन देशका अधिकांश जनताको मुख्य चिन्तन नै दुई छाक कसरी पेट भर्ने भन्ने छ त्यो देशका जनतालाई विश्वव्यापी सूचना संजालसँग सम्पर्कित गर्नुको तात्पर्य के हो भन्ने प्रश्न उठाउन सकिन्छ । इन्टरनेट र इमेलको सुविधा पाएर गरिब जनताले के गर्छन् ? के फाइदा पाउँछन् ? देश र समाजको लागि यो विषय कत्तिको महत्वपूर्ण छ ? राज्यका निकायहरू, स्थानीय सरकारहरू, गैरसरकारी संस्थाहरू, पेशागत संघसंस्थाहरूका लागि इमेल र इन्टरनेटको पहुँच कत्तिको उपयोगी र महत्वपूर्ण छ ? यस्ता प्रश्न उठनु स्वाभाविक हो ।
विश्व भविष्य समाजका अध्यक्ष एडवार्ड कोर्निस भन्छन्, “ज्ञान अति द्रुत गतिले संसारकै सबैभन्दा बहुमूल्य साधन बन्दैछ । यसले सम्पत्तिको सिर्जना गर्दैछ । यसअघिको आर्थिक आधार बनेको भूमि, श्रम, इन्धन र पूँजीको ठाउँ ज्ञानले लिँदैछ । सूचनाको निर्वाध प्रवाहलाई रोक्न खोज्ने देशहरूले आफैलाई अविकसितताको अवस्थातिर धकेल्नेछन् ।”

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको अध्ययनले पनि के स्पष्ट पारेको छ भने “ज्ञानको गरिबी” एक्काइसौँ शताब्दीको सबैभन्दा घातक गरिबी हुनेछ । उक्त अध्ययनका अनुसार सूचना क्रान्तिलाई अगाडि बढाउने तीन तत्व छन् : अति द्रुत गतिले परिवर्तन भइरहेको प्रविधि, अति उच्च गतिको कार्य सम्पादन क्षमता र घटदो मूल्य ।

“ज्ञान परिवर्तनको उर्जा हो” भन्ने कुरा साबित भइसकेको छ, किनकि ज्ञान, जानकारी वा सूचना फैलिने गतिको वृध्दिसँगै मानिसले नयाँ ज्ञान-विज्ञानको आविष्कार गर्ने गति पनि बढ्दै छ । कुनै समाज कति विकसित छ भन्ने कुरा त्यो समाजका सदस्यहरूले कति मात्रामा ज्ञान र सूचनालाई उपयोग वा उपभोग गर्छन् भन्ने कुराले जनाउन थालेको छ । मानव विकासको सूचक अब भौतिक सुख सुविधाको उपभोग क्षमताको सट्टा सूचना र ज्ञानको उपलब्धता, उपयोग गर्ने क्षमता र पहुँचलाई मान्न थालिएको छ ।

भविष्यविद एल्विन टफ्लर भन्छन्, “वितेका कम्तीमा पनि तीन सय वर्षो समयलाई केलाउँदा सबैजसो औद्योगिक देशहरूभित्र भएका राजनीतिक संघर्षहरू भौतिक सम्पत्तिको वितरणको विषयमा भएका थिए । अहिले आएर, द्रुत गतिले परिवर्तशील तथा सम्पन्न देशहरूमा, आम्दानी र सम्पतिका सबै खालका भेदभावका बाबजुद शक्तिको लागि हुने भावी संघर्ष ज्ञानमा पहुँचको लागि मोडिँदै छ र यो क्रम बढिरहेको छ । यसैले, ज्ञान कसरी कतातिर बग्छ र कस्को लागि बग्छ भन्ने हामीले नबुझेसम्म न त हामीले शक्तिको दुरूपयोगबाट आफूलाई जोगाउन सक्छौँ, न त भोलिको प्रविधिले संकल्प गरेको असल, बढी प्रजातान्त्रिक समाज नै सिर्जना गर्नसक्छौँ । ज्ञानमाथि कसले नियन्त्रण गर्ने भन्ने विषय नै भोलि विश्वव्यापी रूपमा हरेक मानव संस्थानमा हुने शक्तिको लागि संघर्षको निर्णायक विन्दु हुनेछ ।”

निश्चय नै नयाँ सूचना तथा संचार प्रविधिले विपन्न राष्ट्रका जनताका लागि नयाँनयाँ अवसरहरू थपेको छ । संचारलाई जनमुखी बनाउनका लागि नयाँ प्रविधिले अभूतपूर्व योग दान दिनसक्छ र दिन थालेको पनि छ । सुनामीजस्ता प्राकृतिक प्रकोपका बेलामा मात्र होइन विपन्न देशहरूमा व्याप्त गरिबी, जनसंख्या विस्फोट, एचआईभी/एड्सजस्ता महामारी, वातावरणीय विनाश, मानवीय तथा सांस्कृतिक विविधता र विशेषताहरूको विनाश जस्ता व्यापारिक तथा ग्लोबल मिडियाले चासो नलिने तर विपन्न देशहरूका लागि महत्वपूर्ण विषयहरू विश्वव्यापी रूपमा उठाउन, सुनाउन र अभियान चलाउन नयाँ प्रविधि वरदान साबित हुनसक्छ । यसका लागि नयाँ खालको संचार प्रणाली, सकारात्मक र सहयोगी अन्तर्राष्ट्रिय वातावरण साथै नवीनतम सोच युक्त संचार संस्था र संचारकर्मीहरूको जमातको खाँचो छ ।

बंगलादेशमा ग्रामीण बैँक र ग्रामीण फोनले त्यहाँका महिलाहरूमा ल्याएको सकारात्मक परिवर्तनका बारेमा निक्कै चर्चा सुनिन्छ । अन्यत्र पनि नयाँ सूचना प्रविधिले गरिबी, रोग र अशिक्षा घटाउने काममा महत्वपूर्ण योगदान दिएका सफलताका कथाहरू पढ्न पाइन्छ । नेपालमा सुरुदेखिनै सफलता पूर्वक प्रयोग भएता पनि त्यसको व्यापक प्रभाव देखिएको छैन । भित्तेपत्रिकादेखि एफएम रेडियोसम्म विकास संचार र विकास पत्रकारिताका विभिन्न औजारहरूको उपयोग गरेर नेपालले दक्षिण एशियामै उदाहरण देखाएता पनि यहाँका सफलताका कथाहरू एक्लाएक्लै (Individual) छरिएका कुनै एउटा समुदाय र गाउँ वा व्यक्तिका सफलतामा सीमित भएका देखिन्छन् । रेडियो बाहेक अरु कुनै माध्यम व्यापक रूपमा (स्केलमा) लागू गर्न सकिएको छैन । सरकारले दशौँ पंचवर्षीय योजनामा आइ पुगेपछि मात्रै राष्ट्रिय विकासको लक्ष हासिल गर्न सामुदायिक संचारमाध्यमको महत्वलाई स्वीकार गरेको हो ।

नेपालमा यात्रा गर्ने सबैभन्दा सजिलो साधन उड्नु नै हो । यस्तै यहाँ सूचना र ज्ञान फैलाउने र प्राप्त गर्ने सबैभन्दा सजिलो र प्रभावकारी साधन रेडियो तरंग नै हो । यो कुरा यातायातको दृष्टिले मात्रै होइन साक्षरताको दृष्टिले पनि महत्वपूर्ण छ । किन भने रेडियो वा टेलिभिजन हेर्न र त्यसबाट सिक्न साक्षर हुनु पर्दैन । सामुदायिक वा स्थानीय एफएम रेडियो यो क्षेत्रको लागि बिल्कुलै नयाँ तर सबैभन्दा प्रभावकारी संचार माध्यम हो । नेपालले निजी क्षेत्रको रेडियोको विकासमा दक्षिण एशियामै अगुवाइ गरेता पनि यो अहिले आफ्नै सफलताको बन्दी बनेको छ । वर्तमान सरकार संचारका अरु माध्यमहरूभन्दा रेडियोप्रति धेरै असहिष्णु भएको छ ।

डिजिटल प्रविधिले उपलब्ध गराएको महत्वपूर्ण माध्यम इन्टरनेट हो जसको अहिले विश्वव्यापी उपयोग भइरहेको छ । इन्टरनेटमा पहुँच बढाउनका लागि विभिन्न देशमा विभिन्न उपायहरू सफल भएका छन् । तर नेपालजस्तो भौगोलिक, आर्थिक, मानवीय विविधतायुक्त देशमा टेलिसेन्टर, साइबर क्याफे, सामुदायिक रेडियो, सामूहिक श्रवण तथा प्रसारण केन्द्रहरू, क्लब र गैरसरकारी निकायजस्ता निकायहरू प्रविध र जनताको बीचमा बसेर काम गर्ने बिचौलिया निकायहरूबाट सेवा सुविधा प्रदान गर्ने मोडेल सफल देखिएको छ । शहरी तथा अर्द्ध शहरी क्षेत्रहरूमा संचालित साइबर क्याफेहरूले अहिले शहरका मात्र होइन गाउँका मानिसहरूलाई पनि इन्टरनेट सुविधा प्रदान गरिरहेका छन् ।

साइबर क्याफेहरूलाई बढी सुविधासम्पन्न र ग्रामीणमुखी बनाउनु आवश्यक छ । साथै साइबर क्याफेहरू इन्टरनेट र इमेल हेर्ने ठाउँमात्रै नभएर अध्ययन अनुसन्धान गर्ने केन्द्र, पुस्तकालय वा सूचना र ज्ञानालयको रूपमा विकास गर्नुपर्छ । इन्टरनेटमा उपलब्ध सामग्रीहरू आमजनताका लागि सान्दर्भिक, उपयोगी र अनुकूल छैनन् । हामी डाउनलोड गर्ने समाजबाट माथि उठेर अपलोड गर्ने अवस्थामा पुग्नु जरुरी छ ।

कम्प्युटर चलाउने स्थानीय भाषाको बाधाबाट अझै पार पाउन सकिएको छैन । स्थानीय भाषामा चल्ने कम्प्युटर संचालन प्रणलीको विकास नभई सूचना प्रविधिको उपयोग आमजनताले गर्ने सम्भावना छैन ।

डिजिटल प्रसारण सूचना प्रविधिले उपलब्ध गराएको अर्को महत्वपूर्ण औजार हो । स्याटेलाइटबाट प्रसारण हुने यो रेडियो प्रसारण नेपालजस्तो भौगोलिक विकटता भएको देशका कुनाकाप्चासम्म पुर्याउन निक्कै उपयोगी हुनसक्छ । इक्वेल एक्सेसले नेपालमा लक्षित श्रोता समुदायकका लागि उपयुक्त सन्देश/विषयवस्तु (Content) उत्पादन गरी प्रसारण गरेको छ । यसलाई अझै प्रभावकारी बनाउन केही थप काम गर्नुपर्छ । जस्तै :
१) स्थानीय रूपमा रेडियो सेट बनाउने वा रेडियो सेटलाई सस्तो बनाउने
२) कार्यक्रममा विविधता ल्याउने, विकासे र चेतनामूलक कार्यक्रममात्र नभएर समाचार, राजनीतिक विश्लेषण, मनोरंजनाका सामग्री, शैक्षिक कार्यक्रमहरू समावेश गर्नु पर्छ । सुरुमा एफएम र टीभीका केही कार्यक्रम प्रसार गर्नसकिन्छ । अन्य माध्यमका प्रसारकहरूसँग सहकार्य गर्नुपर्छ ।
३) यो प्रविधिलाई लोकप्रिय बनाउनका लागि मानिसहरूलाई यसमा बानी पार्न र यसको फाइदा बुझाउन शहरका मुख्यमुख्य भाग र जिला सदरमुकामहरूमा पनि श्रवण केन्द्र राखिनुपर्छ जहाँ मानिसहरू एक छिन आराम गर्दै रेडियो सुन्न सकुन् ।

कुनै पनि सूचना उपयोगी तबमात्र हुन्छ जब त्यो सूचना जसलाई चाहिएको छ त्यसकहाँ सस्तो दरमा र छिटो पुग्छ । सूचना मानिसका दैनिक जीवनसँग सान्दर्भिक तथा उनीहरूको दैनिक खाँचो पूरा गर्ने हुनुपर्छ । सूचनालाई आम जनताले सजिलैसँग बुझ्न र उपयोग गर्न सकिने गरी प्रस्तुत गरिनर्ुपर्छ । सूचना मानिसलाई सामाजिक, आर्थिक तथा राजनीतिक प्रक्रियामा सामेल हुन र नीति निर्माणमा योगदान गर्न सघाउने हुनुपर्छ । मानिसहरू सूचनाका एक मात्र स्रोतमा भर्रपर्न वाध्य हुनु हुँदैन । उसले चाहेको सूचना आफूले चाहेको माध्यमबाट पाउनर्ुपर्छ । सूचना पाउने उपायहरू उसको क्षमताले किन्न र बुझ्नसक्ने हुनुका साथै सांस्कृतिक र सामाजिक रूपले पनि स्वीकार्य हुनुपर्छ ।
नेपालमा सफल प्रयोग भएका विकास संचारका परम्परागत प्रयासहरूसँग सूचना तथा संचार प्रविधिको मेल गराउन सकियो भने नयाँ र पुरानोको मश्रति प्रविधि अझै प्रभावकारी हुनसक्छ ।

समग्रमा विकास संचारलाई सकेसम्म तल्लो तहका मानिसहरूसम्म पुर्याएर यसलाई बढी प्रभावकारी बनाउन राज्यबाट नीतिगत र कानुनी उपाइहरू गर्न बाकी नै छ साथै अहिलेसम्मको अनुभवबाट सिकिएका कुरालाई लागू गर्नुपर्छ । सामुदायिक माध्यमहरूमाथि समुदायका माथिल्ला वर्ग, टेक्नोक्रेट, सामाजिक कार्यकर्ता, राजनीतिक नेता तथा अरु खालका अगुवाहरूको नियन्त्रण गर्ने, आफूलाई अनुकूल हुने गरी प्रयोग गर्ने प्रवृत्तिबाट मुक्त गर्नु जरुरी छ ।
डिजिटल प्रविधिमात्र होइन इलेक्ट्रोनि प्रविधि र ती दुई प्रविधिको मेलबाट गरिने प्रयासहरूको सम्बन्धमा राज्यले अझसम्म स्पस्ट नीति र ऐनकानुन बनाएको छैन । धेरै कुरा व्यक्ति र संस्थाको रहर र सदासयमा चलिरहको छ । यस्तो स्थिति लामो समयसम्म रहनु राम्रो होइन ।

अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिन र सन्धि सम्झौता घोषणाहरूमा सही गर्न नेपाल जहिले पनि अगाडि नै देखिन्छन् । सूचना समाजको विश्व सम्मेलन (WSIS) मा पनि नेपालले उत्तिकै तत्परताका साथ सहभागिता मात्रै होइन प्रतिवद्धता पनि जनाएको छ । तैपनि नेपाली राजनीतिको अहिलेको प्रवृत्ति तथा दूरसंचारका पूर्वाधारहरूमाथि विद्रोहीहरूको निरन्तरको हमला साथै स्वतन्त्र प्रेसप्रति द्वन्द्वरत दुबै पक्षको असहिष्णु व्यवहारलाई हेर्दा कति बेला नेपाल ज्ञानमा आधारित सूचना समाजको बाटोलाई चटक्क त्यागेर उल्टो दिशातिर हिँडन थाल्नेछ भन्न सकिन्न ।

साभार , ournepalimedia.com

Monday, November 16, 2009

नेपाली पत्रकारिताको दुर्दसा

मैले आजसम्म नेपाली पत्रकारिताको चरित्र र दिशा बुझ्न सकेको छैन्।नेपाली संचार जति अबुझ पहेली अरु कुनै चिज होला। यो जति वृहत छ त्यति नै जटिल पनि। नेपाली पत्रकारिताको चिरफार गर्नु आजकोदुनियका लागि सबैभन्दा महान काम हो।
अखबार रेडियो र टेलीभिजन कम्पनी स्थापनाको निहितार्थ के हो भन्ने कुराको विषयमा जति वढे भाषण गरिएका छन। त्यति नै कम उद्धेश्यअनुसारको काम भएका छन्। पत्रकारिताको सैद्धान्तिक पढाइ र यसको व्यवहारिक प्रयोग त आजसम्म खोलाको दुई किनार भएको सत्य नै हो। तर यतिखेर मिडिया राजनीतिको वहुल चरित्रमा राजनीतिक दलको रक्षा कवजका रुपमा स्थापित हुने थालेको छ। यसका पछाडी सम्पादक र प्रकाशकको बौद्धिक वाध्यता भन्दा आर्थिक वाध्यता वढी सघन हुने गरेको छ।
च्याउसरी खुलेका टेलीभिजन, रेडियो र अखबार के को लागि संचालित छन र कसरी संचालित छन भन्ने विषयमा आजसम्म वहसको प्रारम्भ भएको छैन्। पत्रकारको दशा र दिशाका विषयमा पनि चर्चा नभएको सत्य नै हो। अरेक नयाँ टेलिभिजन खुल्नु अगावै मिडीया जगतमा त्यसको उद्धेश्य र रहस्यका बारेमा अनेकन चियागफहरु हुने गरेका छन्। त्यस्ता चिया गफहरु जति सतही भएपनि त्यसले नेपाली पत्रकारितको केही प्रवृत्तीहरुलाई बोकेको छ।
एउटा वाइट रेडियो र टेलीचिजनमा वजाएपछि वेलुका उसकै आथित्यमा सोमरस पान गर्न दौडने पत्रकार साथीको अवस्था देख्दा पत्रकारितको वास्तविक स्थितको ज्ञात हुन्छ। यो प्रवृत्तीका नेपाली पत्रकारितामा आजदेखी मौलाएको होइन। यसका पछाडी कति वाध्यताहरु छन भन्ने कुरा पनि वहसको अलग विषय हो। तर यसले नेपाली पत्रकारिताको दीनहीन प्रवृत्तीलाई संकेत गर्दछ।
असंचारको बाटोतर्फ नेपाली मिडिया
– जनकराज सापकोटा
स्कुप समाचार प्रस्तुत गरेर निरीह पाठकहरुलाई गुमराह गर्ने काममा नेपाली मिडियाहरु खप्पिस भइसकेका छन्। सुकेका र मूल फुट्न बाँकी रहेका विभिन्न स्रोतहरुको आधारमा लेखेका समाचार मिडिया टिप्पणी समयको वरवादी सावित भएको वग्रेल्ती उदाहरणहरु भेटिन्छन्।
माओवादीले राजधानीमा हतियार भित्र्याएर राजधानी कब्जा गर्दैछ भनेर हिमाल पाक्षिकले गरेको आवरण रिपोर्टिङ (१६–३१ वैशाख ०६६) प्रधानसेनापति रुक्माङ्गत कटुवाल र तत्कालिन प्रधानमन्त्री प्रचण्डको विवादमा सेनाले सफ्ट कू गर्ने (०६६, वैशाख १९ गते ) भनेर कान्तिपुर दैनिकले गरेको रिपोर्टिङ नेपाली पत्रकारिताको नमूना समाचार थिए। हिमालले रिपोर्टिङ गरेकै कारण माओवादीले राजधानी कब्जा नगरेको र कान्तिपुरको रिपोर्टिङ गरेकै कारण सेनाले सफ्ट कू नगरेको आत्मरति भोग्न स्वतन्त्र छन् ती पत्रकारहरु। आखिर हुटिट्याउँलाई पनि सगर आफैंले थामेको जस्तो लाग्छ रे!

समाचार हुनका लागि कसैले केही बोलिदिएको कुरा मात्रै पर्याप्त हुने हो कि अरुपनि केही चाहिने हो? फरक देखिने, समाचार बेच्ने र स्कुप मार्ने नाममा नेपाली मिडियामा भएका यी हर्कतहरुले जनताका मनमा त्रासका तरंगहरु पक्कै फैलायो होला। यो साताको प्रारंम्भमा नयाँ पत्रिका (२२ कार्तिक ०६६)ले एमालेका उपाध्यक्ष अशोक राईलाई उद्धत गर्दै प्रकाशित गरेको समाचार व्यक्तिहरुको मनोगत आलापलाई “विकाउ” हेडलाइन बनाउने नमूना प्रयत्न थियो। तर यो नयाँ प्रयास थिएन। यसअघि पनि समाचार बेच्ने नाममा नेपाली मिडियाहरुले यस्ता अभ्यास कैयन पटक गरिसके।

आजसम्म साना कुराको ठूलो हल्ला गर्न होस् वा नन् इस्युलाई इस्यु बनाउन मिडियाको प्रयोग धेरै भएको छ। सीमित स्वनामधन्य मानिसहरुकै वरिपरि पत्रकारिता गणेश घुमेजसरी घुमीरहेको छ। मिडियामा भनिआइएका स्वानमधन्यहरु पहुँच, पैसा र शक्तिले सुमेरु पहाड बनेका छन्। तिनीहरुको वरिपरि घुम्नु मिडियाकेा कर्तव्य बनेको छ। पत्रकारितामा चलिआएको प्रवृत्ति हेर्दा यस्तो लाग्छ मिडिया हाउसहरु भनेका वाख्रा पाल्ने साहु हुन्, र तिनीहरु जता घाँस छ पत्रकारलाई त्यतै चर्न पठाउने गर्दछन्।

अघिल्लो महिना राजधानीमा भएको एनआरएनहरुको सम्मेलन त्यही प्रवृत्तिको नयँा संस्करण थियो। सात समुन्द्रपारबाट आएका नेपालीले राजधानी काठमाडौंमा आएर करिब एक साता तहल्का नै मच्चाए भन्दा पनि हुन्छ। मिडिया कभरेजका हिसाबले त्यो एउटा ठूलै उत्सव जस्तै भयो। तर त्यसको उपलव्धि र यथार्थका बारेमा कसैले वहस गर्नु आवश्यक ठानेनन्। न मिडियाले न अरु कसैले।

खुबै स्कुप मारेझै रातोदिन एनआरएनहरुको प्रशंसामा लागिपरेका अखबारहरुले पुल आउट प्रकाशन गर्न पनि भ्याए। एनआरएन सदस्यहरुको जीवनी र इतिवृत्त छाप्न अखबारहरुको होडबाजी नै चल्यो। भलै जनआन्दोलन सफल भएका दिन पनि कुनै अखबारले नियमित भन्दा वढी पेज संख्या वढाएका थिएनन्। एनआरएन सम्मेलनको प्रचारमा जोडतोडका साथ लागी परेको नेपाली मिडियाहरुले त्यसको दुईसातापछि राजधानी काठमाडौंमै आयोजित वाघ सम्मेलनको समाचार कमै महत्वका साथ प्रकाशन गरे। यी दुई तथ्यले नेपाली मिडियाको स्वभाव, शैली र समाचार बन्नका लागि चलिआएको मान्यतालाई दर्शाउछ। केन्द्रीकृत नेपाली मिडियाले अपनाएको यो शैलीले लोकतान्त्रिक समाजका उपभोक्ताहरुलाई भ्रमको खाडलमा कैद गरिदिएको छ।

मिडियाले बेच्नका लागि उत्पादन गर्ने हो कि? उत्पादित समाचार प्रकाशित गरेर समाजिक जीवनको अर्थको खोजी गर्ने? नेपाली मिडिया सीमित व्यक्ति र परिधिहरुको दायरामा कैद भएको छ। माथिका प्रसंगहरु त उदाहरण मात्रै हो। वर्षभरि मिडियामा आउने सामाग्रीहरुको अध्ययन गर्ने हो भने थाहा हुन्छ मिडिया कुन पावरको वरिपरि घुमेको छ।

Sunday, November 15, 2009