असंचारको बाटोतर्फ नेपाली मिडिया – जनकराज सापकोटा |
स्कुप समाचार प्रस्तुत गरेर निरीह पाठकहरुलाई गुमराह गर्ने काममा नेपाली मिडियाहरु खप्पिस भइसकेका छन्। सुकेका र मूल फुट्न बाँकी रहेका विभिन्न स्रोतहरुको आधारमा लेखेका समाचार मिडिया टिप्पणी समयको वरवादी सावित भएको वग्रेल्ती उदाहरणहरु भेटिन्छन्। माओवादीले राजधानीमा हतियार भित्र्याएर राजधानी कब्जा गर्दैछ भनेर हिमाल पाक्षिकले गरेको आवरण रिपोर्टिङ (१६–३१ वैशाख ०६६) प्रधानसेनापति रुक्माङ्गत कटुवाल र तत्कालिन प्रधानमन्त्री प्रचण्डको विवादमा सेनाले सफ्ट कू गर्ने (०६६, वैशाख १९ गते ) भनेर कान्तिपुर दैनिकले गरेको रिपोर्टिङ नेपाली पत्रकारिताको नमूना समाचार थिए। हिमालले रिपोर्टिङ गरेकै कारण माओवादीले राजधानी कब्जा नगरेको र कान्तिपुरको रिपोर्टिङ गरेकै कारण सेनाले सफ्ट कू नगरेको आत्मरति भोग्न स्वतन्त्र छन् ती पत्रकारहरु। आखिर हुटिट्याउँलाई पनि सगर आफैंले थामेको जस्तो लाग्छ रे! समाचार हुनका लागि कसैले केही बोलिदिएको कुरा मात्रै पर्याप्त हुने हो कि अरुपनि केही चाहिने हो? फरक देखिने, समाचार बेच्ने र स्कुप मार्ने नाममा नेपाली मिडियामा भएका यी हर्कतहरुले जनताका मनमा त्रासका तरंगहरु पक्कै फैलायो होला। यो साताको प्रारंम्भमा नयाँ पत्रिका (२२ कार्तिक ०६६)ले एमालेका उपाध्यक्ष अशोक राईलाई उद्धत गर्दै प्रकाशित गरेको समाचार व्यक्तिहरुको मनोगत आलापलाई “विकाउ” हेडलाइन बनाउने नमूना प्रयत्न थियो। तर यो नयाँ प्रयास थिएन। यसअघि पनि समाचार बेच्ने नाममा नेपाली मिडियाहरुले यस्ता अभ्यास कैयन पटक गरिसके। आजसम्म साना कुराको ठूलो हल्ला गर्न होस् वा नन् इस्युलाई इस्यु बनाउन मिडियाको प्रयोग धेरै भएको छ। सीमित स्वनामधन्य मानिसहरुकै वरिपरि पत्रकारिता गणेश घुमेजसरी घुमीरहेको छ। मिडियामा भनिआइएका स्वानमधन्यहरु पहुँच, पैसा र शक्तिले सुमेरु पहाड बनेका छन्। तिनीहरुको वरिपरि घुम्नु मिडियाकेा कर्तव्य बनेको छ। पत्रकारितामा चलिआएको प्रवृत्ति हेर्दा यस्तो लाग्छ मिडिया हाउसहरु भनेका वाख्रा पाल्ने साहु हुन्, र तिनीहरु जता घाँस छ पत्रकारलाई त्यतै चर्न पठाउने गर्दछन्। अघिल्लो महिना राजधानीमा भएको एनआरएनहरुको सम्मेलन त्यही प्रवृत्तिको नयँा संस्करण थियो। सात समुन्द्रपारबाट आएका नेपालीले राजधानी काठमाडौंमा आएर करिब एक साता तहल्का नै मच्चाए भन्दा पनि हुन्छ। मिडिया कभरेजका हिसाबले त्यो एउटा ठूलै उत्सव जस्तै भयो। तर त्यसको उपलव्धि र यथार्थका बारेमा कसैले वहस गर्नु आवश्यक ठानेनन्। न मिडियाले न अरु कसैले। खुबै स्कुप मारेझै रातोदिन एनआरएनहरुको प्रशंसामा लागिपरेका अखबारहरुले पुल आउट प्रकाशन गर्न पनि भ्याए। एनआरएन सदस्यहरुको जीवनी र इतिवृत्त छाप्न अखबारहरुको होडबाजी नै चल्यो। भलै जनआन्दोलन सफल भएका दिन पनि कुनै अखबारले नियमित भन्दा वढी पेज संख्या वढाएका थिएनन्। एनआरएन सम्मेलनको प्रचारमा जोडतोडका साथ लागी परेको नेपाली मिडियाहरुले त्यसको दुईसातापछि राजधानी काठमाडौंमै आयोजित वाघ सम्मेलनको समाचार कमै महत्वका साथ प्रकाशन गरे। यी दुई तथ्यले नेपाली मिडियाको स्वभाव, शैली र समाचार बन्नका लागि चलिआएको मान्यतालाई दर्शाउछ। केन्द्रीकृत नेपाली मिडियाले अपनाएको यो शैलीले लोकतान्त्रिक समाजका उपभोक्ताहरुलाई भ्रमको खाडलमा कैद गरिदिएको छ। मिडियाले बेच्नका लागि उत्पादन गर्ने हो कि? उत्पादित समाचार प्रकाशित गरेर समाजिक जीवनको अर्थको खोजी गर्ने? नेपाली मिडिया सीमित व्यक्ति र परिधिहरुको दायरामा कैद भएको छ। माथिका प्रसंगहरु त उदाहरण मात्रै हो। वर्षभरि मिडियामा आउने सामाग्रीहरुको अध्ययन गर्ने हो भने थाहा हुन्छ मिडिया कुन पावरको वरिपरि घुमेको छ। |
Monday, November 16, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment